बाँके, २५ फागुन । बाँकेको नरैनापुर गाउँपालिका(१ सुइयामा सोमवार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् ।
गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । आगलागीबाट करोडौँको क्षति भएको उनले बताए ।
मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमवार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो ।
सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको प्रतिपरिवार गैरखाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले खानाको व्यवस्था गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
अहिले यहाँका स्थानीयवासीको बिचल्ली भएपछि गाँसबासको बालबच्चाहरुको निकै समस्या परेको छ । रासस
तपाईको प्रतिक्रिया