काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरे । टीकापुर राजबन्दी रिहाइ सम्बन्धमा अध्यक्ष ठाकुर र संयोजक चौधरीबीच पनि गहन छलफल भएको छ ।
यस विषयलाई प्रधानमन्त्रीले पनि सकारात्मरुपमा लिएको र कानुनी जटिलताका कारण रिहाइ गर्न समस्या भएको ठाकुरकाे भनाइ उद्त गर्दै चौधरीले बताए । ‘रेशम चौधरीलगायत टीकापुर घटनामा पार्टी संवेदनशिल छ । यस विषयमा सरकासँग निरन्तर छलफल पनि भइरहेको छ । प्रधानमन्त्रीजी यस विषयमा जानकार पनि हुनुहुन्छ । कानुनी प्रक्रियामा गएकाले रिहाइमा केही जटिलता भएको उहाँले भन्नुभएको छ,’ ठाकुरको भनाइ उदृत गर्दै चौधरीले भने ।
यस विषयमा छलफल गर्न प्रधानमन्त्रीसँग छिट्टै भेटघाट हुने संयोजक चौधरीको भनाइ छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै कुराकानी गर्नु भन्नुभएको छ । सम्भवतः केही दिनभित्रै हामी उहाँसँग छलफल गर्छौं,’ चौधरीले भने ।
टीकापुर घटना राजनीतिक घटना भएको र यसलाई राजनीतिक तवरबाटै समाधान गर्न केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरी र डा.सुरेन्द्र झाले अभियान थालेका थिए । यसबीचमा उनीहरुले दलका नेता, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग छलफल गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया