सल्यान, २६ फागुन । कालीमाटी गाउँपालिका–२ को कोछट्टे, टोटके र बारपुरका स्थानीयले खानेपानीका लागि वषौंदेखि सास्ती भोगिरहेका छन्। नजिकैका खानेपानी मुहान सुकेपछि डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता छ।
खानेपानीको संकट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको दिलमाया सुनारले बताइन्। उनले भनिन्, ‘पानीको अभाव झेल्दै पुस्तौं बिताइयो। हाम्रा दुःख कहिल्यै हटेनन्।’ नजिकका खानेपानी मुहान सुकेका र सरकारले गाउँभन्दा टाढाका मुहानबाट पानी ल्याउन योजना सञ्चालन नगर्दा समस्या भइरहेको उनको गुनासो छ।
हिउँदको समयमा पानीको संकट सधैं हुने गरेको स्थानीय कमल सुनरले बताए। ‘वर्षातको समयमा आकाशे पानी संकलन गरी उपभोग गर्छौं,’ उनले भने, ‘हिउँद लागे दैनिक एक गाग्री पानीकै चिन्ता हुन्छ।’ खानेपानी अभावका कारण गाउँमा रहेका शौचालय लामो समयदेखि प्रयोगविहीन बनेका उनले बताए।
गाउँभन्दा माथिको मुहान सुकेका छन्। यसले गर्दा गाउँभन्दा तलका मुहानबाट पानी ओसार्नुपर्ने बाध्यता छ। पानीकै लागि महिला र बालबालिकाले लामो समयदेखि विभिन्न सास्ती झेल्दै आएको स्थानीय मनमाया सुनारले बताइन्। ‘बिहान सबेरै खोला नझरी सुख्खै छैन,’ उनले भनिन्, ‘खोलाको धमिलो पानी प्रयोगले बेला–बेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्।’
पानी ओसार्ने कामले घरायसी कामकाज प्रभावित भइरहेको उनले बताइन्। स्थानीयलाई भाँडा र कपडा धुन पनि पोखरीमै झर्नुपर्ने बाध्यता छ। वर्षातको समयमा बस्तीदेखि तलको भक्काने र भित्तामा पानीको मुल रसाउँछ। कात्तिकमा मुल सुकेपछि खोला झर्नुको विकल्प छैन। कोछट्टेका स्थानीय लालबहादुर ओलीले पानीकै कारण बालबालिकाको पढाइ छुट्ने गरेको बताए। दैनिकजसो पानी ओसार्दा अधिकांश महिला ढाडका रोगी बनेका उनको भनाइ छ।
स्थानीय डिलबहादुर ओलीले कहिल्यै पनि शुद्ध पानी पिउन नपाएको गुनासो गरे। पानीको समस्याकै कारण शौच गर्न खोलामा झनुपर्ने बाध्यता रहेको सुनाए।
यता, वडाध्यक्ष इन्द्रबहादुर ओलीले भौगोलिक विकटताका कारण गाउँमा खानेपानी योजना सञ्चालन गर्न समस्या भएको बताउँछन्। उनले भने, ‘मुहान तल छ, गाउँ माथि, सबै बस्तीमा पानी पु¥याउने गरी योजना सञ्चालन गर्न स्थानीय सरकारसँग बजेट छैन, माथिल्ला सरकारले सुन्दैनन्।’
तपाईको प्रतिक्रिया