काठमाडौं, ३ चैत । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदरले गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री थापासँग गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेका हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए।
सोमबार नै राजदूत हैदरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
तपाईको प्रतिक्रिया