झापा, ४ चैत । जङ्गली हात्तीको आक्रमणबाट झापामा दुई जना मजदुर घाइते भएका छन्।
बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट इलाम जिल्ला देउमाइ नगरपालिका १० बस्ने १९ वर्षीय विजय खाती गम्भीर घाइते भएका छन्। त्यस्तै अर्जुनधारा नगरपालिका १ सिस्ने निवासी १९ वर्षीय मिलन कार्की डोली पनि सामान्य घाइते भएका छन्। गम्भीर घाइते भएका खातीको देब्रे हात र छातीमा चोट लागेको छ। उनको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै अर्का घाइते डोलीको देब्रे खुट्टामा सामान्य चोट लागेको स्थानीय क्लिनिकमा उपचार गराइएको छ। ट्याक्टरसहित खोलामा पुगेका उनीहरूलाई एक्कासी हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्।
तपाईको प्रतिक्रिया