जनकपुरधाम, ५ चैत  । देशमा १ करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ ।

जसमध्ये प्रदेश २ मा २९ लाख १० हजार ७७ जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

आयोगका अनुसार प्रदेश २ मा सबैभन्दा बढी सर्लाहीमा मतदाता कायम गरिएको छ ।

सर्लाहीमा ४ लाख १३ हजार १ सय ७४, धनुषामा ४ लाख ९ हजार ९ सय ८५, बारामा ३ लाख ७२ हजार ९ सय ५८, सप्तरीमा ३ लाख ५५ हजार ६ सय ९१, सिरहामा ३ लाख ६४ हजार १ सय ७१, महोत्तरीमा ३ लाख ३६ हजार ९५, रौतहटमा ३ लाख ५८ हजार ३ सय ५५ जना मतदाता कायम गरिएको आयोगले जनाएको छ ।

मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ ।

मतदाता नामावली ऐनमा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थाअनुसार गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो ।

आयोगका अनुसार स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य अब बिहीबारदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुनेछ ।