बझाङ, ६ चैत । बझाङ जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी बस्दै आएका छन। २५ जनाको क्षमता रहेको कारागारमा हाल ३८ जना कैदीबन्दी र ३७ जना थुनुवा गरी ७५ जना रहेका छन्। महिला बन्दी भवनमा पनि पुरुष बन्दी नै बस्दै आएका छन्।
महिला कैदीबन्दी तथा थुनुवा आए अर्कै जिल्ला सार्नुपर्ने अवस्था छ। हाल ६ वटा कोठामा कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था रहेको र दिसापिसाब गर्न समेत समस्या हुने गरेको जेलर धनबहादुर घर्तीले बताए।
७५ जनाका लागि दुईवटा शौचालय भएकाले बिहानदेखि दिउँसो १२ बजेसम्म दिसा पिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको कारागारका नाइके भक्त भण्डारी बताउँछन्। यस्तै, एउटै कोठामा धेरैजना सुत्नुपर्ने भएकाले हलचल गर्न र श्वास फेर्न समेत गाह्रो हुने गरेको उनको गुनासो छ। तत्काल थप शौचालय र बस्ने ठाउँको सुधार नभए आन्दोलनमा उत्रिनुको विकल्प नभएको भण्डारी बताउँछन्।
यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफलेू भर्खरै जिम्मेवारी सम्हालेकाले कारागारको केही दिनमा अनुगमन गर्ने र सघन सहरी विकास तथा भवन र्निमाण आयोजना डोटीसँग बुझेर भवनका लागि समेत पहल गर्ने बताए। पुरुष बन्दी गृहका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना डोटीले स्टमेट गरेको भए पनि ठेक्का प्रक्रिया अगाडि नबढेका जेलर घर्तीको भनाइ छ।
तपाईको प्रतिक्रिया