जनकपुरधाम, ८ चैत । आफ्नै घरबाट वेपत्ता भएका महोत्तरीका बृद्ध दम्पतिको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति वेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।
तर उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले चैत ५ गते सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चार जनाले वृद्ध दम्पतिको अपहरण गरेको केही प्रमाण भेटिएको छ । पक्राउ परेकामध्ये रामबाबु यादवको घरमा भेटिएको रगत परीक्षण गर्दा मानव रगत नै भएको प्रमाणित भएको छ । पक्राउ परेकाहरुको पोलिग्राफ टेष्टसमेत गरिएको छ र, उनीहरुले झुटो बोलेको पाइएको छ ।
रामबाबुसँग हरेन्द्र ठाकुर पनि जोडिएका छन् । फागुन ११ गते प्लटिङ गरेको जग्गामा उपस्थिति भएका उनले राति पटकरपटक कुराकानी भएको र गतिविधि शंकास्पद देखिएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।
जग्गाको विवाद थियो
भारतीय नागरिक हरेन्द्र ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिगाहा जग्गामा प्लटिङ गरेका थिए । प्लटिङको उत्तरतर्फ वेपत्ता भएका मुसाफिर झाको १४ कट्ठा जग्गा थियो । र, त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले २ बिगाहा जग्गा लिएका थिए । आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको १४ कट्ठा जग्गा किन्न खोजेका थिए । तर झाले जग्गा बेच्न मानेका थिएनन् ।
ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुन गुनासो गर्ने गरेका थिए । उनले झा दम्पतिलाई जग्गा बिक्री गर्न सहमत गराउन रामबाबु यादवलाई समेत प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फेला परेनन् झा दम्पति
यही विवादमा हरेन्द्र, रामबाबुको समूहले झा दम्पतिको अपहरण भएको प्रहरीको दाबी छ ।
तर झा दम्पतिको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी भइरहेको भन्दै प्रहरीले कुनै जानकारी वा सूचना भए जानकारी गराउन अनुरोध गरेको छ ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका साथ केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ ।
तपाईको प्रतिक्रिया