खोटाङ, १२ चैत । खोटाङको एक सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाख्रा फर्म र घर जलेर नष्ट भएको हो।
डढेलो गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको छ। स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरूको घर जलेर नष्ट भएको हो।
सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सहकारी संस्थाबाट एक लाख ७० हजार रुपैयाँ अनुदान लिएर भुजेलले बनाएको फार्म जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।
डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको स्थानीय बासिन्दाले बताएका छन्। सामुदायिक वनमा डढेलो लाग्नुको कारण पत्ता लागेको छैन।
तपाईको प्रतिक्रिया