काठमाडौं, १३ चैत । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपराह्न ३ बजे बैठक बोलाएका छन्।
पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष पनि सहभागी हुने भएको छ। तर‚ कति जना सहभागी हुने भन्ने अझै टुंगो लागिनसकेको सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए। बैठकमा स्थायी कमिटी सदस्यहरु नजानले सम्भावना रहेको पाण्डेको भनाइ छ। यसबारे केन्द्रीय कमिटीको बैठकपछि टुंगो लाग्ने उनले बताए।
वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आज बिहान ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसअघि बालुवाटारमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले आफ्ना निर्वाचन क्षेत्रका योजनाहरु पेश गर्न निर्देशन दिने बताइएको छ। यसबाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्।
फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीको विभिन्न गतिविधि र निर्णयप्रति असहमति जनाउँदै खनाल–नेपाल पक्षले पनि समानान्तर गतिविधि गर्दै आएको छ।
तपाईको प्रतिक्रिया