काठमाडौँ, १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका आज सर्वोच्च अदालत जाने भएका छन्।
प्रचण्ड आज बिहान ११ बजे केही नेता तथा कानुन व्यवसायीसँग सर्वोच्च अदालत जान लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
उनका अनुसार अहिले प्रचण्ड वामपन्थी नेता विष्णु बहादुर मानन्धरको अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट जाने र त्यहाँबाट फर्किएलगत्तै सर्वोच्च जाने छन्।
सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो। सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा प्रचण्डले गरेका थिए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाविरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दायर गरेका थिए। सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन्। पार्टीको एकता भंग भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयविरुद्ध मुद्धा नलड्ने सार्वजनिक रुपमै बताएका छन्।
कट्टेलले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो। अदालतको निर्णयपछि नेकपा माओवादी केन्द्र र एमाले साविकको अवस्थामा फर्केर आ–आफ्नो गतिविधि बढाइरहेका छन्।









तपाईको प्रतिक्रिया