काठमाडौं, १८ चैत । लामो हिउँदे खडेरीपछि काठमाडौं उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। बुधबार पानी परेपछि केही दिनयता लागेको तुवाँलो थोरै भए पनि हट्ने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो वर्षाले काठमाडौं उपत्यकामा देखिएको वायु प्रदूषण केही मात्रमा घट्ने छ।
‘वर्षासँगै अहिले देखिएको वायु प्रदूषण बिहीबार थोरै हट्छ’, मौसमविद् बासीले भनिन्, ‘तर, यो पानी पार्ने प्रणाली दुई दिनमात्र रहने हुँदा फेरि प्रदूषण कायमै देखिन्छ।’
मौसमविद्का अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित देशभरका पहाडी भूभागमा वर्षा भएको हो।
‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको हो’, मौसमविद् बासीले भनिन्, ‘तराई क्षेत्रमा वर्षा भएको छैन। विशेषगरी बागमती, गण्डकी प्रदेशसहित देशभरका अधिकांश पहाडी भूभागमा पानी परेको छ।’
तपाईको प्रतिक्रिया