धनगढी, २४ चैत । नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने बताएका छन्।
मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेशस्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री ओली नै रहेको आरोप लगाएका हुन्।
उनले पार्टी विधानलाई उल्लङ्घन गर्दै ओलीले आफ्नो गुटको भेला बोलाएर आफूअनुकूल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाए। रावलले ओलीले कारबाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै ओलीको निरंकुशताविरुद्ध प्रवृत्तिलाई छिटै किनारा लगाएरै छाड्ने बताए।
‘पार्टीको नवौँ महाधिवेशनमा केपी ओलीभन्दा बढी मत ल्याएर विजयी भएको व्यक्ति हुँ म,’ रावलले भने, ‘प्रतिनिधिसभाको चुनावमा पनि म अछामबाट विजयी र ओली झापाबाट विजयी भएका हुन्। पार्टीको विधि विधान मिचेर कसैले पनि फुर्ती नलगाउँदा हुन्छ,’ उनले भने, ‘पालो आइसकेको छ जनता र कार्यकर्ताले ठेगाना लगाउने दिन।’
उनले कथा सुनाउँदै भने, ‘एउटा बच्चा रहेछ। बच्चा पाउन दुई आमाले न्यायाधीश कहाँ उजुरी हालेछ। न्यायाधीश कस्तो परेछ भने एकदमै धूर्त। न्यायाधीशले भनेछ दुवैले बच्चा पाउन बीच भागबाट चिर्नुपर्छ। नक्कली आमाले भनेछ, हुन्छ श्रीमान्। त्यस्तै अहिलेको ओली प्रवृत्ति हो।’
आफूहरुले त्याग र बलिदान गरी जन्माएको बच्चालाई ओलीको हातबाट चाँडै खोसेर ल्याउन विशेष अभियान शुरु गर्न लागेको बताए। सबैलाई संघर्षको मैदानमा उत्रन उनलेआह्वानसमेत गरे।
तपाईको प्रतिक्रिया