काठमाडौं, २५ चैत । आज नेपाल पत्रकार महासङ्घको चुनाव हुँदै छ। बिहान ९ बजेदेखि ५ बजे सम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ।

महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा १३ हजार १२२ मतदाता छन्। प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ।

मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिने छ। कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए। सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ। ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ। उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ। एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ। एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ।

त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ। जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन हुने छ। त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ। केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए। महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ।

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुन्। प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ। महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन।

महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन्।

महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन्। महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ। जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ।

सत्तापक्ष र प्रतिपक्षका बेग्लाबेग्लै प्यानल

महासङ्घको यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले ९नेपाल पक्ष०, मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका छन्। एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ। केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ।

महासङ्घको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ। अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन्। कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन्। वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ। महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन्।

खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा ९यम विरही० र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ। महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेदवार बनेका छन् भने जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी परेको छ। मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन्। दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी, प्रकाश थापा र माधव दुलालको उम्मेदवारी परेको छ।