विराटनगर, १ बैशाख । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गइ कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन्। एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।
तपाईको प्रतिक्रिया