नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ ।
शुक्रवार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताउनुभएकाे हाे । हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उहाँले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मूल्यवृद्धि गरीएको उहाँले प्रष्ट्याउनुभयो । आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरु क्रुड र डलरमा केन्द्रित भएको अवस्था छ । हामीले लागत नै महंगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरेपनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्तर्गत मूल्यवृद्धि गरिएकाे हाे । नाफा कमाउने त कुनै उद्देश्य छैन । अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्यूनतम भन्दा न्यूनतम प्रयोग गरेर मूल्य बढाएको स्थिति हो ।’
आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको बिक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । त्यसैगरी, आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दा पनि आयल निकै अझै घाटामा रहने आयल प्रवन्ध निर्देशक पौडेलले जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया