धनुषा, १८ असार । खेतीपातीको बेला जहिल्यै पनि किसानलाई मलकै चिन्ता हुन्छ।
अहिले पनि धान रोपाइँ गर्न मलको अभावमा किसान छटपटाइरहेका छन्। तर सरकारले अनुदानमा किसानलाई वितरण गर्न दिएको रसायनिक मल धनुषाको बटेश्वर गाउँपालिकाले गोदामै थन्क्याएर राखेको छ।
असार २०७७ मा कृषकलाई वितरणको लागि संघीय सरकारले ७० बोरा मल उपलब्ध गराएको थियो। सो मल बटेश्वर बजार स्थित साझा सहकारी संस्थाको गोदाममा वितरणको लागि राखेको थियो।
तर ५० बोरा मल अझै गोदाममै थन्किएको छ। मल थोरै मात्रामा प्राप्त हुँदा वडाध्यक्षहरुले वितरणको लागि लिन अस्वीकार गरेकाले मल गोदाममै थन्किएको बटेश्वर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादवले बताए।
गाउँपालिका कार्यालयले एकसाता अघि वडा नम्बर ५ लाई वितरणको लागि ७ वटा बोरा उपलब्ध गराएको जनाएको छ।
अन्य १३ बोरा मल गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले आफ्ना आसेपासे कृषकलाई वितरण गरेको स्रोतले बताएको छ।
उनी अख्तियारको स्ट्रिङ अपरेशनमा गएको फागुन १७ गते ८ लाख रुपैयाँ घुस फालेर फरार भएपछि तीनमहिना पश्चात् जेठ अन्तिम साता अख्तियारबाट धरौटी राखेर जमानतमा फर्केका छन्।
वडाध्यक्षहरुले वडापिच्छे ७ बोरा मल मात्र उपलब्ध गराउने गाउँपालिका अध्यक्ष राउतले भनेपछि वितरण गर्न नसकिने भनेर अस्वीकार गरेको बताएका छन्।









तपाईको प्रतिक्रिया