सिचाई मन्त्री पम्फा भुसाल आज धनुषा आउँदै
धनुषा जिल्लाको पूर्वी क्षेत्रको सबैला नगरपालिका क्षेत्रमा कमला नदीले भत्काएको तटबन्धलाई निरीक्षण गर्न उर्जा, सिंचाई मन्त्री पम्फा भुसाल विहिवार जनकपुर आउन लागेकी कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले जनाए ।
मन्त्री भुसाल बिहान साढे ७ बजेको विमानबाट जनकपुरधाम आएर कमला नदीको भत्एिको तटबन्धको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको भट्टराईले जनाए ।‘सबैला नगरपालिकाको किरतपुरमा करिब ११ सय मिटर र पर्टेवामा ३ सय मिटर तटबन्ध कटान गरिएको छ’ उनले भने, नदीको पानीको मुहान फर्किन नदिन तटबन्ध मर्मतको कार्य भइरहेको छ । मन्त्री भुसालले नदीको वहाव र तटबन्धको अवस्थालाई हेरेर आवश्यक बजेट उपलब्ध गराउने बताइएको छ ।माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मातृका यादवको विशेष पहलमा मन्त्री भुसाल स्थलगत निरीक्षणका लागि आउन लागेकी हुन् । भारतीय सहयोगमा कमला नदीमा तटबन्ध बनाइएको थियो ।तटबन्ध निर्माणको काम पुरा भइसकेपछि भारतले सहयोग बन्द गरिसकेको छ । कमला नदीको भारतीय सीमाको जयनगरमा अत्याधुनिक ब्यारेज निर्माणका लागि ठेक्का लगाइएको छ ।यसै वर्षदेखि कार्य प्रारम्भ हुने सो ब्यारेज निर्माणले भारत तर्फ पानी नियन्त्रित रुपमा छाडिनेछ । नेपाली भूभागमा पानीको वहाव बढेपछि नदीमा कटान हुने गरेको छ ।ढुंगाको जाली नलागेको कमजोर स्थानहरुमा नदीले कटान गरेको बताइन्छ ।तटबन्धमा भारी क्षमता भएका गाडी सञ्चालन नगर्न भनेपनि त्यो नरोकिदा समस्या आएको हो ।
