काठमाडौं, १५ असोज। दशै तिहार नजिकिदै गर्दा लुटपाटका घटना पनि बढ्दै गइरहेको छ । त्यस्तै घटना भएको छ गोंगबुमा । गोंगबुमा एक जनालाई कुटपिट गरी सुनको सिक्री र पर्स लुटपाट गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो काठमाडौंको गोंगबु शिवमन्दिर नजिकै सडकमा हिँडिरहेका गोरखा अजिरकोटका अजय रेग्मीलाई कुटपिट गरी घाँटीमा लगाएको सुनको सिक्री र नगदसहितको पर्स लुटपाट गरेर फरार भएको गिरोहलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ वर्षीया पूजा राई, धनगढीकी २२ वर्षीया सुस्मा कार्की, काभ्रे चौवासकी २२ वर्षीया ईस्मी कुँवर र काभ्रे मण्डनदेउपुरका ३२ वर्षीया सुरराज भट्टराई रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले लुटिएको सुनको सिक्रीसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









तपाईको प्रतिक्रिया