जनकपुरधाम । नवरात्राको सातौं दिन अर्थात् सप्तमी तिथिका दिन जनकपुधामको शक्तिपिठ राजदेवी मन्दिरमा फूलपाती भित्राइएको छ ।

मंगलबारका दिन जनकपुरधामको श्री राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्किएको भक्तजनको टोलीले मारवाडी सेवा समिति परिसरमा रहेको बेलको फल विधिपूर्वक टिपेपश्चात वैदिक परम्परा अनुसार फूलपाती भित्राएको राजदेवी मन्दिरमा दसैं पूजा आयोजक समिति महावीर युवा कमिटीले जनाएको छ ।

राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरुको समूहले शक्तिपीठभन्दा नजिकै रहेको बेलको रुखमुनि गएर हिन्दु परम्परा अनुसार पूजापाठ गरी सो रुखमा रहेको बेल टिपेर रातो कपडामा बेरेर फर्किएको कमिटीले जनाएको छ । यसलाई तराइ मधेशतिर बेलतोरी भन्ने चलन पनि छ ।

सो क्रममा मन्दिर परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रुपमा सलामी दिई झाँकीका साथ डोला निकालेका थिए ।

षष्ठीका दिन निमन्त्रणा दिइएको बेललाई विधिपूर्वक शक्तिपीठ तथा दुर्गा मन्दिरमा भित्राइएको छ ।

श्री महावीर युवा कमिटीका अनुसार मंगलवार राती १२ बजेर १५ मिनेटदेखि भक्तजनका लागि लड्डु फलफुल सहितका प्रसाद चढाउन र खोइँच भर्नका लागि मन्दिर प्रवेश खुल्ला गरिने छ । साथै माता राजदेवी मन्दिरमा बुधबार साँझ देखि बिहिबार बिहानसम्म बोकाबली प्रदान हुने छ ।

फूलपाती अर्थात् बेलतोरी कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. ३ वाट निर्वाचित सांसद राजेन्द्र महतो, प्रदेश सांसद परमेश्वर साह, मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सहित प्रशासनिक निकायका प्रमुखहरुसहितको सहभागीता रहेको थियो ।