काठमाडौं । युएईमा जारी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।
आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार भएको खेलमा अफनिस्तानलाई पाँच विकेटले पराजित गरेको हो ।
सुपर १२ अन्तर्गत ग्रुप २ मा रहेको पाकिस्तान तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले अब दुई एसोसिएट राष्ट्र नामिबिया र स्कटल्याण्डसँग खेल्न बाँकी छ । पहिलो हार बेहोरेको अफगानिस्तानको दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ ।
अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै पाँच विकेट गुमाएर पूरा ग¥यो । अन्तिम दुई ओभरमा जितका लागि पाकिस्तानलाई २४ रन आवश्यक थियो । १९औं ओभर अफगानिस्तानका करिम जन्नतले बलिङ गरेका थिए । जसमा आसिफ अलीले चार छक्का प्रहार गरेपछि पाकिस्तानले एक ओभर अगावै खेल जित्यो ।
अलीले सात बल खेल्दै चार छक्का मद्दतमा अविजित २७ रन बनाए । पाकिस्तानका लागि कप्तान बाबरले ५१ रन बनाए । यस्तै फकर जमनले ३० र सोएब मल्लिकले १९ रन बनाए ।









तपाईको प्रतिक्रिया