स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई कोरोनाविरुद्धको खोप अभियानलाई सहजीकरण गर्दै तीव्र पार्न आग्रह गरेको छ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीवार जुम मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड विरुद्धको खोपको उपलब्धता पर्याप्त रहेको र आउने क्रम पनि रहेकाले खोप कार्यक्रमको सहजीकरणसँगै तीव्र रुपमा कार्यक्रम सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारले अहिले भएको खोपको उपलब्धता र पाइपलाइनमा रहेको खोपको आधारमा १८ वर्ष माथिका सबैलाई खोप लगाउन मन्त्री खतिवडाले आग्रह गरेको जानकारी दिनुभयाे।
अधिकारीले भन्नुभयाे, ‘आज मन्त्रीज्यूले सबै प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गर्नुभएको छ। स्टक धेरै भएको र छिट्टै नै थप खोप आउने पाइपलाइनमा रहेकाले खोप कार्यक्रमलाई तीब्रता दिन आवश्यक छ।’
सहप्रवक्ता अधिकारीले संक्रमितको संख्यामा कमी आएपनि जोखिममा कमी नआएकोले खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयाे।
पछिल्लो समय कोरोना विरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण दर र गम्भीर हुने जोखिम भने कम देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंसिर ९ गतेसम्म कुल जनसंख्याको २६ दशमलब ८ प्रतिशत जनसंख्याले पूर्ण खोप पाइसकेका छन् भने ३० दशमलब ८ प्रतिशत जनसंख्याले कम्तिमा एक मात्रा खोप लगाएका छन्।
सरकारले नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका र फाइजर खोप लगाइरहेको छ।









तपाईको प्रतिक्रिया