जनकपुरधाम । प्रदेश २ को धनुषा जिल्लामा मङ्सिर २४ देखि २८ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जनकपुरधाममा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै १८ वर्ष र सो भन्दा माथि उमेर समूहका व्यक्तिलाई सो खोप दिइने जानकारी गराएको हो ।
कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए ।
जिल्लाका प्रत्येक पालिकाका खोप केन्द्रमा सो खोप लगाइने व्यहोरा खोप अधिकृत यादवले बताए ।
जिल्लाभर ६३१ वटा खोप केन्द्रहरु रहेका छन् भने एउटा खोप केन्द्रमा १ जना खोप लगाउने कार्यकर्ता र २ जना सहयोगी परिचालित रहेको बताउँदै जिल्लाका १६९ वडामा त्यति नै संख्यामा खोप सुपरभाईजरसमेत परिचालन गरिएको उनले जानकारी दिए ।
यसअघि खोप लगाउन छुटेका सवै नागरिकलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय धनुषाले आग्रह गरेको छ । विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने छन् ।
त्यसैगरी स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख यूगलकिशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।
कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मङ्सिर १६ देखी २९ गतेसम्म स्वास्थ्य कार्यालयमा नै दिइने जानकारी स्वास्थ्य कार्यालय धनुषाले दिएको छ ।
अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल, जनसन एण्ड जनसन, एस्ट्राजेनेका र फाइजर गरि पाँच प्रकारका खोप लगाइएको छ ।









तपाईको प्रतिक्रिया