आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना क्षीण बनेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा शीर्ष नेताहरुबीच तीनै तहको निर्वाचन एकैपटक गर्ने अनौपचारिक सहमतिपछि वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनको सम्भावना न्यून बनेको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताउनुभयो । उहाँले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने पनि बताउनुभयो ।
तीनै तहको चुनाव कहिले गर्ने भन्ने विषयमा कानुनविद्सँग छलफल गरिने उहााको भनाइ थियो । तीन तहको चुनाव २०७९ को मंसिर गर्ने कि फागुनमा भनेर संविधान र कानुनविद्सँग सल्लाह गरेर निर्णयमा पुग्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहका सरकारको पदावधि असोज २ गतेबाट मात्र ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने कुरा गनिने उहाँले प्रष्ट पार्नुभयो ।
शुक्रवारको बैठकमा दुई महिना अगाडि चुनाव गर्नुपर्ने भन्ने व्यवस्थालाई संशोधन गर्ने सहमति समेत भएको तुलाधरले बताउनुभयो । योसँगै अर्ली इन्जेक्सनको विषय सकिएको उहाँले दाबी गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनको भावना अनुरुप नै चल्ने प्रतिवद्दता व्यक्त गरेको उहाँको दाबी थियो । संविधान र कानुनले निर्धारण गरेको समयमा निर्वाचन गर्न प्रधानमन्त्री देउवा सहमत भएको तुलाधारले बताउनुभयो । तीनै तहको चुनाव एकै पटक गर्न सकिन्छ वा चरण चरणमा गर्न सकिन्छ भन्नेबारे संविधान र कानुनविद्सँगै सम्पादक पत्रकारको समेत राय लिने उहाँले जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया