सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ। पछिल्लो समय भिजिट भिसा प्रयोग गरी दुबईलगाय मुलुकमा पुगेर अलपत्र पर्नेको संख्या बढेसँगै भिजिट भिसाको मापदण्ड बनाउन लागिएको हो।
वास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको छ।
गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन्। समितिको सदस्य सचिवमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन्।
समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउनेसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको कार्यादेश दिइएको गृह मन्त्रालयले जनाइएको छ।









तपाईको प्रतिक्रिया