सर्लाही, फागुन ६ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका चुरे क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२ कालिञ्जोरवासीको घरघरमै पानीको धारा पुगेपछि दंग परेका छन्। सधैं खानेपानीको अभाव हुने कालिञ्जोरको सुकेपुर गाउँमा खानेपानीको सुविधा पुगेको हो।
स्थानीय तिलकबहादुर थापाका अनुसार ईश्वरपुर नगरपालिकाको सुख्खा क्षेत्र मानिने साबिकको कालिञ्जोर गाविसको ७ र ८ सुकेपुर क्षेत्रका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको समस्या टरेको छ। बाँके खोलाबाट गाउँसम्म पानी ल्याउनका लागि नगरपालिकाले पाइप उपलब्ध गराएको हो। पाइप बिछ्याउन गाउँले श्रमदान गरेको थापाले बताए।
घरघरमै खानेपानी आएपछि पिउने पानीको समस्या हट्नुका साथै सरसफाइ गर्न र पशुचौपायलाई पानी खुवाउन पनि सहज भएको सुकेपुरका भीमबहादुर चौहानले बताए।
पूर्व–पश्चिम राजमार्गको फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने सुकेपुरका स्थानीयवासी यसअघि गाउँमा रहेको तीनरचार वटा धारामा घण्टौं लाइनमा बसेर पानी भर्न बाध्य थिए। अहिले उक्त समस्याबाट मुक्ति पाएको स्थानीयवासीले बताएका छन्।
सुक्खा याम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको हाहाकार हुन्छ। पछिल्ला वर्षहरुमा नगरपालिकाले चुरेक्षेत्रका विकट बस्तीहरुमा समेत खानेपानी पुर्याउन थालेपछि त्यस क्षेत्रका नागरिकलाई केही सहज हुन थालेको छ।









तपाईको प्रतिक्रिया