जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेको छ ।
पहिलो चरणमा चुनावी प्रतिस्पर्धामा तेस्रो भएका कोइराला समूहका सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् ।
बुधबार पूर्व उपसभापति निधिको निवासमा भएको छलफलपछि प्रसैलाले पजियारलाई समर्थन गरेका थिए । निधिले आफ्नो उम्मेदवारका लागि दौडधूप शुरु गरेपछि कोइराला समूह समर्थनका लागि तयार भएको हो ।
निधिले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा दिनेश प्रसैलाले आफ्ना उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन् । उनले निर्वाचन पश्चात जिल्लाको दीर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य र सहमतिमार्फत नै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मंगलबार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार पुनः निर्वाचन हुन लागेको हो । सोमबार भएको निर्वाचनमा कुल ३ हजार १ सय ७३ मतदाता रहेकोमा २ हजार ९ सय १२ जनाले मत खसाएका थिए ।









तपाईको प्रतिक्रिया