जनकपुरधाम । नेपाल प्रहरीले ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनका लागि परिचालित हुने म्यादी प्रहरीको भर्ना आइतबार (आज) देखि सुरु गर्ने भएको छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेको अवधिमा सबै जिल्ला प्रहरी कार्यालयमा भर्ना खुला हुने प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिएका छन् ।उनका अनुसार भर्ना अवधि ११ चैतलाई अन्तिम समय सीमा तोकिएको छ । आवेदन दर्ता गराएपछि १३ चैतमा सम्पर्कका लागि बोलाइनेछ । १५ चैतदेखि भर्ना छनोट हुने र २२ चैतमा अन्तिम नतिजा प्रकाशन गर्ने प्रहरी प्रधानकार्यालयको भर्ना छनोट महाशाखाले जनाएको छ । महाशाखाले ती भर्ना भएका म्यादी प्रहरीलाई २८ चैतदेखि प्रशिक्षण शुरु गर्ने भनिएको छ ।
यी योग्यता पुगेको हुनुपर्नेछ
म्यादी प्रहरीमा भर्ना हुन चाहने व्यक्ति दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै, म्यादी प्रहरी हुन नेपाल नागरिक हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोमा कसुरदार नठहरिएको हुनपर्नेछ। राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको, साधारण लेखपढ गर्न जान्ने न्यूनतम योग्यता तोकिएकोे छ ।
यस्तो छ सेवा, सुविधा
म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह (आधारभूत तलब मासिक २२ हजार ६८०) बढीमा ४० दिनसम्मका लागि व्यक्तिगत बैंक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब ३० हजार २४०, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ठ ७ हजार २०० र पोसाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले उपलब्ध गराइने गरी सेवा, सुविधा तोकिएको छ ।
निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एक पटकका लागि १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध गराइने र बीमालगायतका अन्य सुविधा सरकारले तोकेबमोजिम हुने उल्लेख गरिएको छ ।
यसरी हुन्छ छनोट
म्यादी प्रहरी हुन सुरुमा प्रारम्भिक स्वास्थ्य परीक्षण (वेयरिङ चेक) परीक्षा हुनेछ, जसमा अंगभंग÷कुरूप नदेखिने, आँखा राम्रोसँग देख्ने, बाहिर देखिने घाउ चोट पटक, रोग नभएको, उचाइअनुसार हुनुपर्ने तौलभन्दा अत्यधिक बढी वा कम तौल नभएको, पुरुषको उचाइ घटीमा ५ फिट, तौल ५० किलो र छाती ३१ देखि ३३ इन्च तथा महिलाको उचाइ घटीमा ४ फिट १० इन्च, तौल कम्तीमा ४२ किलोलगायत वियरिङ चेकमा हेरिनेछ ।
शारीरिक तन्दुरुस्ती परीक्षामा १ किलोमिटर दौड, सिट अप र पुस अप उमेरअनुसार तोकिएको छ। त्यसपछि लिखित परीक्षा, स्वास्थ्य परीक्षण हुनेछ, जसमा सामान्य स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न मुटुको धड्कन, ब्लड पे्रसर तथा अन्य सामान्य शारीरिक परीक्षण हुनेछ।
त्यसपछि अन्तर्वार्ता हुने उल्लेख छ । एकपछि अर्काे परीक्षामा सामेल हुन त्यसैअनुसार परीक्षासमेत उत्तीर्ण गर्नुपर्नेछ । त्यसपछि २० प्रतिशत वैकल्पिक सूचीमा राखी अन्तिम नतिजा प्रकाशन गर्ने योजना छ । अन्तिम नतिजा प्रकाशन गर्ने क्रममा महिला आवेदकलाई प्राथमिकतामा राखी प्रत्येक मतदान केन्द्रमा महिला म्यादी प्रहरीसमेत रहन पुग्ने गरी छनोट व्यवस्था मिलाउन भनिएको छ ।









तपाईको प्रतिक्रिया