काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलाले विमानमा निषेधित क्षेत्रमा प्रवेश गरी दृश्य खिची प्रसारण गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
काउन्सिलले सुरक्षा संवेदनशीलता र वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेर दृश्यसहित प्रत्यक्ष प्रसारण के/कति कारणले गर्नुपरेको हो ? भनि प्रश्न सोधेको छ ।
त्यसैगरी धमलाबाट पटक–पटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो भनेर प्रश्न सोधेको छ । काउन्सिलले पत्रकार क्षेत्रको मर्यादा÷विश्वासनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य किन÷कसरी हुन गएको हो ? प्रश्न सोधेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा सदस्य रहेका पत्रकार धमलाले प्राइम टिभीको २०७८ चैत २० गतेको जनता जानता चाहन्छन् कार्यक्रममा ‘काठमाडौं विमानास्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षकमा कार्यक्रम प्रसारण गरेका थिए । विमानका कर्मचारीहरुले धमलालाई ‘सुरक्षा प्रोटोकलविपरीत हो यस्तो नगरिदिनुहोस्,’ भन्ने आग्रह गर्दागर्दै पत्रकार धमलाले निषेधित गरिएको क्षेत्रमा प्रवेश गरी दृश्य रिकर्ड गरेका थिए । सो दृश्य प्रसार भएपछि सामाजिक सञ्जालमा धमलाको चर्को आलोचना भएको थियो । सञ्जाल प्रयोगकर्ताहरुले पत्रकारकारिताको आचारसंहिता अनुमगन गर्ने संस्थाहरुको ध्यान दिन आग्रह गरेका थिए । त्यसलगत्तै काउन्सिल र नेपाल पत्रकार महासंघले छुट्टाछुटै विज्ञप्ति निकालेका थिए ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहितको भ्रमण टोलीका सदस्यहरु चढेको विमानमा काठमाडौंमा अवतरण भैसकेपछि इकोनोमिक क्लासमा रहेका पत्रकार धमला प्रधानमन्त्री देउवा रहेको ठाउँमा बलपूर्वक प्रवेश गरेका थिए ।
यसैबीच, नेपाल वायुसेवा निगमले पत्रकार धमलाको व्यवहारको बारेमा ‘क्याबिन क्रु’ले लिखित तथा मौखिक कुनै पनि उजुरी नदिएको अपरेसन विभागका प्रमुख पाइलट रविन्द्रकुमार शेरचनले बताएका छन् । ‘जहाज काठमाडौंमा अवतरण भएपछि इकोनोमिक क्लास टिकट भएका पत्रकार धमलाले बिजेनस क्लास रहेका प्रधानमन्त्रीलाई खोजेको जानकारी आएको छ,’ शेरचनले भने, ‘प्रक्रियागतरुपमा कुनै सूचना नआए पनि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यस विषयमा निमगसँग जानकारी माग गरेको छ ।’ साभार कान्तिपुर दैनिक









तपाईको प्रतिक्रिया