जनकपुरधाम । प्रत्येक वर्ष झैँ यस वर्ष पनि नयाँ वर्षको आगमनसँगै सिरहा जिल्ला सलहेसमय भएको छ । लोकनायकका रूपमा चिनिने चौधौँ शताब्दीका प्रतापी राजा सलहेसको गाथाको सम्झनामा सिरहाको विभिन्न स्थानमा नयाँ वर्षको आगमनसँगै विशाल मेला र महोत्सव आयोजना हुँदै आएको छ ।
सलहेस गाथाको सम्झनामा नयाँ वर्ष २०७९ को पहिलो दिनदेखि नै लहानस्थित सलहेस फूलबारी, पकडियागढ, सिरहा सदरमुकामस्थित महिसोथागढ, लक्ष्मीपुर पतारीस्थित पतारी पोखरीमा विशाल मेला महोत्सव लाग्ने गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । सलहेस फूलबारीमा फुल्ने मालाकार फूल सबैको आकर्षणको केन्द्र बन्दै आएको छ ।
फूलबारीमा अनेकौँ रुखहरू भए पनि माला आकारको ती फूलहरू मालिनीको गहबर छेउमा एउटै जराबाट निस्केको दुईवटा रुखमा मात्र देखिने गरेको छ । माला आकारको फूल फुल्ने रुखमुनि रहेको मन्दिर (गहबर)भित्र हात्तीमा चढेका सलहेस र उनका प्रेमिका दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि कहिल्यै नसुक्ने दलदले खोला पनि छ ।
सलहेसलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही पात्रका रूपमा चिनिन्छ । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पूजा गर्ने गर्छन् ।
मेलामा कतिपयले आफ्नो मनोकामना पूरा गराउन अनेक किसिमका भाकलसमेत राख्ने गरेको पाइन्छ । भाकल पूरा भएपछि सलहेसलाई बोका, पाठीको बलि दिने र कागजको छाता चढाउने परम्परा छ । यो फूलबारीमा सलहेसलाई साक्षी राखेर विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास छ ।
लहानस्थित सलहेस फूलबारी मेलामा दुई दिनअघिदेखि नै भारतीय पर्यटकहरू आगमन हुन थाल्छ ।
राष्ट्रिय गौरवका रूपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्नेछ ।









तपाईको प्रतिक्रिया