जनकपुरधाम । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम“ सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्रपूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर हिन्दूराष्ट्र लेखिनुपर्ने माग गरेका छन् ।
जनगणना मार्फत हिन्दूलाई ११ ठाउँमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दूराष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गरेका थिए ।
अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू राष्ट्रको माग राजनीतिक नभई साँस्कृतिक रहेको बताएका छन् । नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउन कालागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनस्र्थापित हुनुपर्ने माग समेत गरे ।
कार्यक्रम संयोजक तथा पूर्वमन्त्री रामचन्द्र रायले हिन्दू राष्ट्रको पहिचान बेच्नेहरूलाई गद्दारको संज्ञा दिदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गरेका थिए । धर्मान्तरण नै राष्ट्रान्तरण हुने तर्फ सचेत हुन आग्रह गर्दै उनले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए।
राष्ट्रिय मधेसी आयोगकी सदस्य आभा सेतु सिंहले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गरेकी थिइन् । सह–संयोजक राम स्वरूप राय यादव रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य डा पुरुषोत्तम झा द्वारा प्रस्तुत गरिएको थियो ।









तपाईको प्रतिक्रिया