जनकपुरधाम । नेपाली कँंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेहरुमाथि कारवाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनको बिरुद्धमा काँग्रेस भित्रै आवाज उठिरहेको समयमा यसको विरुद्धमा बोल्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
‘पार्टी बाहिर गएर उम्मेदवारी दिएकाहरुका लागि पार्टीमा कुनै स्थान छैन, देउवाले भने, ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन बिरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुने छैन ।’
देउवाले नागरिकता समस्या समाधान गर्न सरकार गम्भिर रहेको र नागरिकताबाट कोही पनि वञ्चित नरहने बताए ।
उनले प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृतिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेको जिकिर समेत गरे ।
देशमा धेरै लडाईंपछि प्राप्त संघीयतालाई जोगाउन गठबन्धन कायम रहनुपर्ने हुँदा स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन सभापति देउवाले आग्रह समेत गरे ।ण्
देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो अत्याचार पछि पाँच दलीय गठबन्धन बनेको दाबी गरे ।
उनले भने, ‘वर्तमान संविधान संविधानसभाले बनाएको संविधान हो । कुनै पार्टीले बनाएको संविधान होइन् । एमाले अध्यक्ष ओलीमा विपक्षीले गरेको विरोध सहन गर्ने शक्ति नै छैन् ।’
काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे ।
गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर समेत गरे ।









तपाईको प्रतिक्रिया