मधेशी जनताको हक अधिकारका लागि लड्ने पार्टीलाई पहिचान गरी मतदान गर्नुस्ः लोसपा अध्यक्ष ठाकुर
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताको हक अधिकारको लागि लड्ने पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
सोमबार लोसपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ठाकुरले केही दलहरुको गठबन्धनलाई पवित्र गठबन्धन बनाएर मधेशी जनतालाई भ्रममा राख्ने काम मात्र गरेकोले मधेशी जनताको हक अधिकारका लागि लड्ने पार्टीलाई पहिचान गरी मतदान गर्नुपर्ने बताए छन् । मधेशी जनताको हक अधिकार अझै सुनिश्चित हुन नसकेको बताउँदै अध्यक्ष ठाकुरले स्थानीय तहमा विकासको लहर ल्याउने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इमन्दारीपूर्वक काम गर्ने व्यक्तिलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लोसपाले उम्मेदवार बनाएको दाबी समेत गरे ।
अध्यक्ष ठाकुरले तीन तहको सरकार निर्माण भएपनि अधिकार भने अझै केन्द्र सरकारसँगै छ । प्रदेश तथा स्थानीय सरकार केन्द्रकै इसारामा चल्नु पर्ने हुन्छ, त्यही विभेदको विरुद्धको लडाई अझै लडिरहेको बताएका छन् ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता एवं प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोले विगतका मेयरलाई सुधार गर्न खोज्दा उनी पार्टी नै छोडेर अन्य पार्टीमा गएको बताए । यसै क्षेत्रको जनप्रतिनिधि रहेको हैसियतले यसको विकास निर्माणमा चासो राख्नु आफ्नो दायित्व रहेको बताउँदै वरिष्ठ नेता महतोले भने,‘ जनकपुरधामको विकासका लागि मैले धेरै काम गरेको छु । केही काम गर्न अझै बाँकी छ त्यसैले जो सुकै लडे पनि मलाई सम्झेर मतदान गर्नुहोला’ । कार्यक्रममा लोसपाका अर्का वरिष्ठ नेता एवं प्रतिनीधिसभा सदस्य शरत सिंह भण्डारीले मधेशी जनताको हक अधिकारको लागि लोसपा मात्रै इमान्दार पार्टी रहेको बताए ।
कार्यक्रममा लोसपाका उम्मेदवार मनोज चौधरीले आफूले जनताको सेवा र जनकपुरधामको समुचित विकासका लागि उम्मेदवारी दिएको बताए । चुनावमा अहिले विभिन्न किसिममा हल्ला चलेका छन्,ठूला पुँजीपतिहरु उम्मेदवार भएका छन्, जनताको मत खरिद बिक्री गर्न उनीहरुका एजेण्टहरु गाउँगाउँ टोल घुमिरहेका छन्, तर उनीहरुबाट पैसा लिएर पनि मतदान तपाईको अधिकारको लागि लड्ने लोसपाको पक्षमा नै गर्नु होला ।’

लोसपाको जिल्ला अध्यक्ष एवं प्रदेश सांसद परमेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा लोसपाका वरिष्ठ नेता एवं प्रतिनीधिसभा सदस्य अनिलकुमार झा, प्रदेश सांसद जयनुल राइन, सुरिता जानकीराम साह, उपमेयरकी उम्मेदवार रिता कुमारी मिश्र लोसपा प्रचार समितिका संयोजक संजयकुमार चौधरी लगायत लोसपाका कार्यकर्ताहहरुकको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया