काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।
सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०७९–०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल हुनेछ ।
बजेट अधिवेशन सुरु भएको पहिलो दिन मङ्गलबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९–०८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता सदनमा पेश गर्दै आगामी बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने जानकारी दिएका थिए ।
अर्थमन्त्री शर्माले आर्थिक गतिविधिलाई थप गतिशिल बनाउने र आयात नियन्त्रण गर्दै आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी आगामी बजेटमा सिद्धान्त तथा प्राथमिकता तय गरिएको संसद्लाई जानकारी गराएका थिए ।
यसैगरी, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पटक–पटक गर्दै आएको संसद् अवरोध अब नहुने भएको छ ।
मङ्गबारको बैठकमा सभामुख सापकोटासँग समय लिएर बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बजेट अधिवेशनमा एमालेले अवरोध नगर्ने बताएका हुन् । साथै उनले विरोधको स्वरुप भने परिवर्तन गर्ने बताए । एमालेले भदौ २३ गतेदेखि खास विषयसहित निरन्तर सदन अवरोध गर्दै आएको थियो ।









तपाईको प्रतिक्रिया