काठमाडौं, जेठ २३ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ।
हिजो र अस्ति सार्वजनिक बिदा भएकाले आज अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडी बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। शिक्षालयका विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको घटना सार्वजनिक भएपछि फरार रहेका बस्नेतलाई रामेछापमा पक्राउ गरी शनिबार राती काठमाडौं ल्याइएको थियो।
वार्डेन वस्नेतविरुद्ध प्रहरीवृत्त बौद्धमा तीन वटा किटानी जाहेरी परेको बताइएको छ। शनिबार वार्डेन बस्नेतले तीन जना १२, १३ र १५ वर्षका छात्राहरूले यौन दुव्यवहार भएको मौखिक उजुरी दिएका थिए।
होस्टलमा बस्ने छात्राहरुलाई वार्डेन बस्नेतले अश्लिल भिडियो देखाउने, संवेदनशील अंगहरूमा छुने लगायनका कार्य गर्ने गरेको अभिभावकहरुको आरोप छ। घटना सार्वजनिक भएपछि अभिभावकहरु शनिबार होस्टलमै पुगेका थिए। तर, शिक्षालयबाट उपयुक्त जवाफ नआएको भन्दै उनीहरुले वार्डेनलाई कारबाहीको माग राखेर नाराबाजीमै उत्रिएका थिए।
अनुसन्धानका क्रममा पक्राउ परेका शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमती भने तारेखमा छुटेको प्रहरीले जनाएको छ।









तपाईको प्रतिक्रिया