प्रत्येक विद्यालयमा सिसिटिभी जडान गरिनेः गापा अध्यक्ष महतो
जनकपुरधाम । बटेश्वर गाउँपालिकाका नव निर्वाचित अध्यक्ष राम अशिष महतोले पालिका भित्रका प्रत्येक विद्यालयमा सिसिटिभी जडान गर्ने प्रतिवद्धता जनाएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकास्थित श्री शिव शक्ति मावि (प्राविधिक तथा व्यवसायिक शिक्षा) बटेश्वरद्वारा आयोजित स्वागत तथा निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष महतोले शिक्षा सुधारका लागि पालिका क्षेत्रका प्रत्येक विद्यालयमा सिसिटिभी जडान गरी पालिकाले नै त्यसको निगरानी गर्ने बताएका हुन् ।
अध्यक्ष महतोले,‘शिक्षा क्ष्ँोत्रलाई सुधार गर्नका निमित्त पालिकाका सम्पूर्ण विद्यालयमा गुरु योजना तयार गरी शिक्षामा जोड दिने बताए । निर्वाचित हुने वितिक्कै उनको पहिलो प्राथमिकता नै गुणस्तरीय शिक्षामा सम्पूर्णको पहुँच भन्ने थियो ।
यसैगरी सोही विद्यालयका प्रधानाध्यापक प्रमोद शरण केवटले गाउँपालिकाबाट पाउनु पर्ने सेवा सुविधा समयमा उपलब्ध गराउन आग्रह गरेका छन् । विद्यार्थी र शिक्षकले पाउनु पर्नै कुरा समयमा पायो भने गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताए । साथै पालिकालाई बेला बखत विद्यालयमा अनुगमन गर्न आग्रह समेत गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष फुल कुमारी सिंह, वाड नं. ४ का अध्यक्ष निरज कार्की, गापा शिक्षा प्रमुख रामलाल महतो लगायतको उपस्थिति थियो ।
