काठमाडौं । पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाएको छ ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो ।
पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ ।
‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं’, नगर प्रहरी प्रमुख सीताराम हाथेछुले भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुन्छ ।’
पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको भन्दै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी समेत बेच्न नदिने उलने बताए ।
‘पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै विक्री वितरण गर्न दिइन्छ,’ उनले भने ।
यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो । त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो ।
हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।
‘प्रारम्भिक जानकारी अनुसार राजधानीमा हैजा सडक छेउमा बिक्री वितरण गरिने पानीपुरी लगायत खाद्य पदार्थको माध्यमले फैलिरहेको भनिएकाले यसलाई नियन्त्रणका लागि हामीले सुरूआत गरेका हौ’, उनले भने । साभार सेतो पाटी









तपाईको प्रतिक्रिया