नेपालगंज । नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङक छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को लाग्ने गरेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार दुई सय देखि एक हजार तीन सयसम्म नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जानकारी दिए ।
अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाई छ । भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा रहेका छन् ।
भारत हिडेका जाजरकोट पाँचकाटियाका रमेश बहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जान थालेको बताए । उनले नेपालमा बढी भन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानै पर्ने बाध्यता बाँकी रहने बताए ।
यस्तै सल्यान थारमारेका गणेश विकले आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा गैरहेको गुनासो गरे । सोही प्रकारको दुखेसो भारत छिर्न नाकामा पुगेका अधिकांश युवाको छ । साभार गोरखापत्र दैनिक









तपाईको प्रतिक्रिया