काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरु मिलेर देशको गरिबी हटाउनुपर्ने बताएका छन् ।
आइतबार वाम–लोकतान्त्रिक गठबन्धनले राजधानीमा आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने, “नेपालमा लडेर ल्याएको लोकतन्त्र बचाउन जरुरी छ। सबै पार्टी एक हुन जरुरी छ, त्यसैले यो एउटा संस्कृतिको विकास भएको छ । मिलेर चुनाव लड्ने, मिलेर विरोधको सामना गर्ने, मिलेर देशमा गरिबी हटाउने, हाम्रो लागि ठूलो मौका हो चुनौती पनि हो ।”
लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले काठमाडौं–२ प्रतिनिधिसभा सदस्यका गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी नेत्री एवम् पूर्व सभामुख ओनसरी घर्तीमगर अत्यन्तै साहसिक महिला रहेको उल्लेख गर्दै घर्तीले संसद्लाई सफलताका साथ सञ्चालन गरेको र संसदीय व्यवस्थामा पार्टीको भन्दा राष्ट्रको हित हेरेर काम गरेको स्मरण समेत प्रधानमन्त्री देउवाले गरे ।
उनले सत्ता गठबन्धनका काठमाडौं – २ का प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई विजयी बनाउन पनि आह्वान गरे ।









तपाईको प्रतिक्रिया