आज विवाहपञ्चमी महोत्सव, खचाखच भरिए जनकपुरधाम
सीताराम विवाहपञ्चमी आज हर्षोल्लासपूर्वक मनाइँदै छ। त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाहका पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।
एक साता अघिदेखि नै बैवाहिक विधिहरू सुरू भए पनि आज हुने वैवाहिक समारोहमा सहभागी हुन श्रद्धालुहरु खचाखच भरिएका छन् । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंबरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो
। गोस्वामी तुलसी दासको रामायण अनुसार जनकपुरधामको बारहविघा मैदानमा आयोजना गरिएको सो स्वयंबरमा देवी देवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव,मटकोर , स्वयम्बर र विवाह संस्कार सम्पन्न हुने गरेको छ । पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा , झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बारहविघा मैदान पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बारहविघा मैदानमा लगिने चलन रहेको छ । बारहविघामा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ । फूलवारी प्रसङ्गदेखि स्वयंवरसम्मको आयोजनाले महोत्सव देैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दे सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् ।
