नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ ।
पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ ।धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुुभएको छ ।
महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएको छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएको छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएको हो ।महासेठ २०७४ को चुनावमा समेत यही चुनाव क्षेत्रबाट विजयी हुनुभएको थियो । २०७४ सालमा बाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ मत पाउनुुभएको थियो ।डा.चन्द्रमोहनलाई अनुशासनहीन कार्य गरेकाले तत्कालै कारबाही प्रकृया बढाउने सहमहामन्त्री यादवले चेतावनी दिनुुभएको छ । अहिले समाजिक सञ्जालमा महेन्द्र यादव समर्थक र डा. चन्द्रमोहन यादव समर्थकबीच आरोपप्रत्यारोप लगाउने काम भइरहेको छ । कांग्रेस नेता डा. यादवले महेन्द्रले हारेपछि झुटाे आरोप लगाएको बताउनुुभयो ।
डा. चन्द्रमोहन र महेन्द्र यादवबीच वर्षौँदेखि विवाद रहेको छ । दुवै मिल्दा राम्रो परिणाम आउँछ नमिल्दै दुवै पक्ष हार्ने गरेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका अवकाश प्राप्त प्राध्यापक रहेका राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुुभयो ।पालिका चुनावमा धनुषा ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका र मिथिला बिहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिकाको बहुसङ्ख्यक वडा पनि जितेको छ । क्षिरेश्वरको नेतृत्व एमालेले जितेको छ भने मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा एमालेले जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला बिहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ गरी पाँच वटा भने पर्दछ । यो क्षेत्रमा पर्ने वडाहरुमा वडाध्यक्ष पदका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेस र एमालेको शक्ति उस्ताउस्तै देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २६ हजार १५९ मत पाउँदा एमालेकाले २४ हजार ३९४ मत पाएका थिए । जसपाले ८ हजार ३८८, एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले एक हजार ९५० मत पाएका थिए ।कांग्रेसबाट प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार रहेका कुमरकान्त झाले स्थानीय चुनावमा पाएको मत र गठबन्धनमा रहेको दलहरुको साथ नै आफूहरुको जितको आधार भएको तर आफ्नै पार्टीका केही नेताका कारण हुन नसकेको बताउनुुभयो । कांग्रेसले पाँचमध्ये ४ वटा पालिका जितेको छ । ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष हाम्रो छ, सत्ता गठबन्धनको मत जोड्दा एमालेभन्दा करिब दोब्बर थियो ।









तपाईको प्रतिक्रिया