सप्तरीमा पाँच दलितको मृत्यु, अनुगमनका लागि मधेसी आयोगबाट टोली खटाइने
मधेशी आयोगले सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरु उपचारकै अभावमा मृत्यु भएको घटना सम्बन्धी यथार्थ बुझी सो समस्याको निदानार्थ कार्य गर्न एक अनुगमन टोली पठाएको छ । आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाहरु प्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताएकी छन् ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाहरुको अल्पकालीन र दीर्घकालीन समाधानको लागि आयोगले विभिन्न समयमा सिफारिस र ध्यानकर्षण गराएपनि सरकारको बेवास्ताले गर्दा यस्ता समस्याहरु समाजमा यथावत रहेको बताएका छन् । अध्यक्ष दत्तले संवैधानिक निकायको सिफारिसहरु सरकारको लागि निर्देशन बराबर भएपनि सरकार संवेदनशील नहुनुले समाजमा गलत संदेश जाने बताएका छन् ।आयोगले पीडित परिवारलाई राज्यले सबै प्रकारको सहयोग गर्न र बिरामीहरुलाई यथोचित स्वास्थ्य उपचार गराउन अपिल समेत गरेको छ ।
