धनगढी,फागुन २० गते । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले

लिखित प्रतिबद्धता मागेको हो । ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रिञ्जता श्रेष्ठले फेसबुकमा लेखेकी छन् ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले पनि सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए ।

‘हामी अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा पुगेका छौँ तर उहाँहरुले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘उहाँ(मुख्यमन्त्री) ले दिनुभएन भने त्यसपछि सोच्ने अवस्था आउन सक्छ ।’