जनकपुरधाम, फागुन ३० गते । जनकपुरधाम उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि टास्क फोर्स गठन गर्ने भएको छ ।
जनकपुरधामले सोमबार आयोजना गरेको सर्वपक्षिय भेलाले जनकपुरधामको फोहोमैला व्यवस्थापनका लागि टास्क फोर्सको गठनदेखि आगामी शुक्रवार साँझ चार बजे सचेतना र्याली निकाल्ने निर्णय गरेको छ ।
सर्वपक्षिय भेलाले पाँच देखि ७ सदस्सीय एक टास्क फोर्स गठन गरि सरसफाई सम्बन्धी अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार गर्ने र संगसंगै सचेतनाका कार्यक्रमहरु समेत चलाउने निर्णय भएको हो । सचेतनाका लागि सम्पूर्ण निजि क्षेत्र, व्यवसायिक प्रतिष्ठान, सञ्चार क्षेत्रलगायतसंग सहकार्य गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनकपुरधाममा सचेतनाको कमी रहेको भन्दै जनचेतना फैलाउनु पर्ने बताए । भण्डारीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पान, गुटखा खाएर थुक्नेलाई सार्वजानिक रुपमा दशपटक कान समातेर उठबसको कारवाही सुरु भइसकेको बताए ।
कार्यक्रममा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले जनकपुरधाम सफाईका लागि नियम र कडाई तथा करवाही आवयश्क रहेको बताए ।
सहायक सिडिओ सहित तिनैतहका प्रशासनका प्रतिनिधिहरुले जनकपुरधामको सफाई हरेक जनकपुरधामवासीको प्रतिष्ठासंग जुडेकाले उपमहानगरपालिकाले नेतृत्व लिन हिचकिचाउन नहुने भन्दै प्रशासनको तर्फबाट कुनै पनि सहयोग गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरेका थिए ।
अगाडि मुख्य सडकमा फोहर फयाक्नेलाई कारवाहीको दायरा ल्याउनुपर्ने र फोहर उठाउन उपमहानगरपालिकाले सक्रियता देखाउनु पर्ने भेलाको निष्कर्ष रहेको थियो ।
नगर प्रमुख मनोजकुमार साहको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जनकपुरधामका उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स, युवा क्लवहरु, वडा स्तरका टोल सुधार तथा सफाई समितिहरु, विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुसहित वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया