काठमाडौं, चैत २ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निराश भएर र आत्तिएर देश नबन्ने भन्दै संयमित भएरै देशलाई समृद्ध बनाउन सकिने बताए । ‘कानुनका विद्यार्थीसँग केपी ओली’ विषयक बिहीबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
“हाम्रा पुर्खाले लडेर, आफ्नो ज्यानको कुर्बानी गरेर नेपाल देश बनाएका थिए, अब देशलाई समृद्ध र सम्पन्न बनाउने जिम्मेवारी हाम्रो हो, त्यसैले कोही निराश भएर होइन, संयमित भएर देश बनाउनुपर्छ” उनले भने । देशमा पटक पटक महाभूकम्प आउँदा देशको भौतिक संरचना ध्वस्त हुँदा पनि नेपाल र नेपाली नआत्तिएको बरु संयमित र सङ्गठित भएर भौतिक संरचना निर्माण गरिएको उनले बताए ।
कानुनका विद्यार्थीले देशको अवस्था देखेर रुन मन लाग्नेखालको रहेको भन्दै अध्यक्ष ओलीलाई देश बनाउन योगदान दिन र भूमिका खेल्न आग्रह गरे । देश बनाउने विषय जोक नभएको तर गम्भीरता, दृढता र अथक प्रयासले सम्भव रहेको उनले चर्चा गरे । देश बनाउने सङ्कल्प बोकेर आफूहरू राजनीतिमा होमिएकाले आशावादी हुन उनले विद्यार्थीसँग आग्रह गरे ।
विकासको नाममा जनतालाई अलमल्याउने कुनै राजनीतिज्ञ र सरकारलाई छुट नरहेको भन्दै अध्यक्ष ओलीले इमानदारितापूर्वक नेतृत्वले काम गरेमा नेपाल समृद्ध बन्ने बताए । आफू सरकारमा रहँदा इमानदारितापूर्वक काम गरेको उनले दाबी समेत गरे । अझै देशको पक्षमा काम गर्ने चाहना रहेको उनले चर्चा गरे ।
अनेरास्ववियु नेपाल ल क्याम्पसको आयोजनामा भएको कार्यक्रममा कानुनका विद्यार्थीले अध्यक्ष ओलीलाई देशको वर्तमान अवस्था, राजनीतिक समस्या, कानुनी व्यवस्था र समाधानको उपायबारेमा केन्द्रित भएर जिज्ञासा राखेका थिए ।
तपाईको प्रतिक्रिया