काठमाडौं, चैत ८ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गरेकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छिन् ।
मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागीता रहने । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुने छिन् ।
बिहीबार उनीले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुई पक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने जानाइएको छ ।
मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका हन् ।









तपाईको प्रतिक्रिया