काठमाडौं, चैत १२ गते । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ विद्येयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’भनी प्रस्ताव प्रस्तुत हुनेछ।

यसैगरी, कांग्रेसबाट संविधानसभाका समानुपातिक सांसद गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उनको ७४ वर्षको उमेरमा चैत ७ गते निधन भएको थियो।