काठमाडौँ, चैत २४ गते । आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिए । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
प्रवक्ता पौडेलले उपनिर्वाचन हुने तीन जिल्ला चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने बताए ।
तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिह्न प्रदान गरेको छ । वैशाख १० गते बिहान ७ बजेदेखि हुने मतदानको ४८ घण्टा अगाडि मौन अवधि सुरु हुनेछ ।









तपाईको प्रतिक्रिया