धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। आधारभूत सेवा सुधार, सुशासन प्रवद्र्धन र युवा रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएर उनी यतिबेला गाउँ–टोलमा प्रत्यक्ष भेटघाटमा सक्रिय देखिएका छन् ।
शनिबार उनले नगराइन नगरपालिका–२ जटही तथा जनकपुरधाम उपमहानगरपालिका–६ मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरे। टोल–टोलमा पुगेर जनगुनासा सुन्दै उनले खानेपानी, ढल व्यवस्थापन, सडक स्तरोन्नति, बेरोजगारी र युवापलायनजस्ता समस्याप्रति आफू गम्भीर रहेको बताए ।
विश्व तीव्र गतिमा विकासतर्फ अघि बढिरहेको अवस्थामा पनि धनुषा–३ का बासिन्दाले आधारभूत सेवामा असमानता भोग्नु दुःखद भएको उनको भनाइ छ । ‘जनताको करबाट सञ्चालन हुने निकायले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्छ,’ उनले भने, “रास्वपाको नेतृत्वमा सरकार बने सुशासन, पारदर्शिता र परिणाममुखी काम गरेर देखाउनेछौं ।”
विशेषगरी युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने वातावरण निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई समेत मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । विगतमा निर्वाचित प्रतिनिधिहरूले गरेका प्रतिबद्धता पूरा हुन नसक्दा नागरिकमा निराशा बढेको उल्लेख गर्दै यसपटक मतदाता सचेत भएकाले परिणाम परिवर्तनमुखी हुने विश्वास उनले व्यक्त गरे ।
झाले जातीयता वा पारिवारिक स्वार्थभन्दा माथि उठेर देशको समृद्धि, सार्वजनिक सेवामा सुधार र सुशासनलाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्नेमा जोड दिए । घरदैलोका क्रममा स्थानीय बासिन्दाले न्यानो स्वागत गर्दै विकास, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहप्रति आफ्नो अपेक्षा व्यक्त गरेका छन् ।









तपाईको प्रतिक्रिया