जनकपुरधाम, चैत ३० गते । मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहाले ५० करोड रुपैयाँ बराबरको मलखाद किन्ने प्रस्ताव गरेका छन् ।
बिहीबार बसेको मन्त्री परिषद् बैठकमा मन्त्री कुशवाहाले ५० करोडमा ३० हजार मेट्रिक टन मलखाद खरिद गर्ने प्रस्ताव गरेका हुन् । उनले किसानहरूका लागि कृषि विकास योजना अन्तर्गत रासायनिक मल खरिद गर्ने प्रस्ताव गरेका छन् ।
आर्थिक वर्ष २०७९\०८० मा मन्त्रालय मातहत गर्न नसकिने तथा गर्न नमिल्ने टुक्रे तथा स–साना योजनाहरू कट्टा गरी कृषि बालीका लागि मलखाद किन्ने प्रक्रिया अघि बढाइने तथा आगामी कृषि बाली, तेलहन, दलहनसहितका नगदे बाली उखुका लागि पनि मलखाद अनुदानमा उपलब्ध गराई किसानको समस्या समाधानका लागि पहल भइरहेको मन्त्री जानकारी दिए।
मन्त्रीका अनुसार संघीय सरकारको कृषि मन्त्रालयसँग मधेशको किसानहरुका लागि पनि निरन्तर कुराकानी भइरहेको छ, कुरा सकारात्मक छ । छिट्टै मलखाद खरिद प्रक्रियामा अघि बढाइने छ । किसानहरूका लागि दीर्घकालीन, अल्पकालीन र मध्यकालीन गरी कृषि विकासको योजनाहरू लिएर मधेशका किसानका लागि सर्वसुलभ मल, खाद्य, बिउबिजन उपलब्ध गराउने कोसिस भइरहेको छ ।’
मन्त्रीले मधेश प्रदेशको हरेक वडामा जैविक मलखाद उद्योग स्थापना गर्ने, हरेक पालिकामा साना कृषि बजार व्यवस्थापन गर्ने, हरेक निर्वाचन क्षेत्रमा ठूला कृषि बजार व्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ५०० टन माथिको कोल्ड स्टोर स्थापना गर्ने र हरेक निर्वाचन क्षेत्रमा कृषि औजार कष्टम हायरिङ सेन्टर स्थापना गर्नेलगायतका आगामी योजनाबारे जानकारी समेत दिए ।









तपाईको प्रतिक्रिया